Need Help ?
Call: +977- 023455276
News Flash

गुणस्तरीय शिक्षाका लागि झापा घोषणापत्र २०७२

प्रकाशित मिती:  २०७२-०२-१०

गुणस्तरीय शिक्षाका लागि झापा घोषणापत्र २०७२

झापा जिल्ला शिक्षा कार्यालयको विशेष आयोजनामा शिक्षकले चाहेमा गर्न सक्छन् अभियान टोलीसंगको सहकार्यमा यस झापा जिल्लामा सामुदायिक विद्यालय सुधारका लागि विशेष कार्यक्रम सम्पन्न भइरहेको छ । शिक्षकले चाहेमा गर्न सक्छन् भन्ने उत्प्रेरणात्मक अभियानका क्रममा जमघट भएका हामी शिक्षक, अभिभावक र शिक्षासेवीहरु आआफ्नो विद्यालयमा निम्नानुसारका कार्य गर्ने प्रतिबद्धता ब्यक्त गर्दछौं ।

प्रतिबद्धताहरुः

१)    हाम्रो विद्यालयको भौतिकवातावरण स्वच्छ, सफा, हराभरा र सुरक्षित बनाउने छौं । यसकालागि सम्पूर्ण पक्षसंगको सहयोग लिनेछौं । अभिभावकहरु र अन्यनिकायसंगको सहकार्यमा यो काम सम्पन्न गर्नेछौं ।

२)    विद्यालयको पठनपाठनलाई पाठ्यक्रममा आधारित गर्नेछौं । पाठ्यपुस्तकलाई स्रोतसामग्रीको रुपमा मात्र लिनेछौं । हामी पूर्णरुपमा आफूले पढाउने पाठको तयारी गरेर मात्रै कक्षाकोठामा प्रवेश गर्नेछौं । सकेसम्मविद्यार्थीहरुका अगाडि हामी पाठ्यपुस्तक समातेर उभिने छैनौं । चित्र, चार्ट, स्रोतसामग्री, भिडियो, अडियो लगायतका शैक्षिक सामग्रीहरुको प्रयोग गरेर शिक्षण गर्नेछौं ।नियमित रुपमा शैक्षिक सामग्रीको निर्माण गर्नेछौं । तालीम र सामग्री निर्माणमा विज्ञहरुको साथ सहयोग लिनेछौं । स्थानीय स्रोतमा आधारित शैक्षिक सामग्रीहरु निर्माण हाम्रो प्राथमिकतामा रहनेछ । सामग्री निर्माणका लागि हामी विदाको समयको पनि भरपुर उपयोग गर्नेछौं ।

३)    तिक्ष्ण विद्यार्थीहरुलाई अझ बढी सिक्ने वातावरण दिनेछौं र कमजोरहरुलाई थप सहयोग र हौसला दिंदै सिकाईका लागि प्रेरित गर्नेछौं । सबै बालबालिकाहरुमा विशिष्ट गुणहरु हुन्छन् भन्ने कुरालाई मनन गर्दै उनीहरुमा भएका फरक फरक क्षमताहरुलाई प्रष्फुटित हुने अवसर दिनेछौं ।

 

४)    विहानै खानाखाएर विद्यालय आएका बालबालिकाहरु लामो समयसम्म खाजा खान नपाउँदा उनीहरुको सिकाईमा बाधा पुग्छ । कतिपय विद्यार्थीले दिवा खाजा खाएको र कतिपयले नखाएको अवस्था देखिन्छ । सबै विद्यार्थीले दिवा खाजा खाने वातावरण कसरी निर्माण गर्न सकिन्छ हामी अभिभावक र अन्य सरोकारवालाहरुसंग छलफल गरेर दिवा खाजाका लागि पहल गर्नेछौं ।

५)    पुस्तकालयको अधिकतम उपयोग गर्नेछौं । पुस्तकालयलाई शैक्षिक सामग्रीले भरिपूर्ण बनाउने र यसको संचालनका लागि योग्यव्यक्तिलाई जिम्मेवारी दिने वातावरण तयार गर्नेछौं । हरेक कक्षाकाविद्यार्थीले नियमित रुपमा पुस्तकालयका शैक्षिक सामग्रीहरुबाट लाभलिने वातावरण बनाउनेछौं ।

६)    शिशु कक्षालाई हामी बालविकासको उत्कृष्ट थलो बनाउनेछौं । मनोरञ्जक वातावरण दिनेछौं ।

७)    बालबालिकाहरुले अनुशासन, एकअर्कोलाई गर्नुपर्ने आदर सम्मान,  व्यवसायिक सीप र सिर्जनशीलता सानोकक्षाबाटै सिक्छन् । हामी कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरुमा सिर्जनशीलता भर्न विभिन्न प्रयत्नहरु गर्नेछौं । सिर्जनशील सिकाईको वातावरण बनाउनेछौं ।

८)    शिक्षकहरु नियमित विद्यालयमा आउनेछौं । कुनै कारणवश कोही विद्यालयमा आउन नसकेको अवस्थामा आफ्नो सट्टामा अर्को शिक्षक व्यवस्था हामी सहकार्यबाट गर्नेछौं । विद्यालय संचालनका लागि हामी यतिदिन र उतिदिन भन्ने छैनौं । हामी २२० दिनको सीमामा बाँधिने छैनौं । सकेसम्म धेरै दिन विद्यालय संचालन गरेर विद्यार्थीहरुलाई शिक्षणको अवसर र अतिरिक्त शैक्षिक क्रियाकलापका लागि अवसर दिनेछौं । ३०० दिन संचालन गरेका छौं भन्ने दिन पनि आओस् ।

९)    विद्यालयको शैक्षिक क्रियाकलापका विषयमा निर्णय लिंदा विद्यार्थी र अभिभावकहरुलाई अनिवार्य सहभागी गराउनेछौं । सम्पूर्ण शिक्षकहरुबीच टीमवर्कलाई प्रभावकारीरुपमा लागू गर्नेछौं । विद्यालयको सुधारका लागि हामी सानातिना गुनासा र दुखेसोहरुलाई ठाउँ दिने छैनौं ।

१०)   प्रधानाध्यापकहरुले अनिवार्य रुपमा समय निकालेर कक्षा शिक्षण गर्नेछौं । आफ्नो नेतृत्वमा सबैलाई समेटेर विद्यालय सुधार योजना लागू गर्नेछौं । सबै सरोकारवालाहरुलाई आकर्षित गर्ने र उनीहरुसंगको समन्वयमा विद्यालयको भौतिक र शैक्षिक सुधार गर्नेछौं ।

११)   स्रोतकेन्द्रहरुमा गरिने भेलाहरुलाई सिकाई उन्मुख बनाइनेछ । हरेक प्रअहरुले प्रत्येक भेलामा आफूले आफ्नो विद्यालयमा गरेका नमूना कार्यहरुको आदानप्रदान गर्ने वातावरण बनाइनेछ । एक विद्यालयले गरेको राम्रो अभ्यासलाई अर्को विद्यालय र अर्को स्रोतकेन्द्रमा पुर्याइनेछ ।

१२)   प्रत्येक विद्यालयले वार्षिक रुपमागरिने अभिभावक भेलामा त्यस विद्यालय क्षेत्रका अभिभावकहरुले आफूले उत्पादन गर्ने वस्तुको प्रदर्शनी, उनीहरुमा भएका निर्माण कला, परम्परागत ज्ञान, खानापकाउने सीप, सिलाईबुनाई लगायत आफूले गर्दै आएका नमूना कार्यहरुको प्रदर्शनीको वातावरण दिने । विद्यालयलाई सहयोग गर्ने र स्थानीय तहमा उदाहरणीय कार्य गर्ने अभिभावकलाई सम्मानगर्ने ।

१३)   पठनपाठनमा नयाँपन, नियमित उपस्थिति, विद्यालयको ख्याति वृद्धिका लागि राम्रो कार्य गर्ने र विद्यार्थीको नजरमा अनुकरणीय देखिने शिक्षकहरुलाई विभिन्न अवसरमा सम्मान र पुरस्कारको व्यवस्थागर्ने ।

१४)   सकेसम्म बढी पटक परीक्षा लिने र उत्तरपुस्तिका परीक्षण गरी अभिभावकसमक्ष पठाउने ।

१५)   शिक्षकका छोराछोरीहरुलाई आफ्नो विद्यालयमा पढाउन अभिप्रेरित गर्ने र अभिभावकको विश्वास जित्ने प्रयास गर्ने ।

१६)   गाउँ शिक्षा समितिलाई प्रभावकारी बनाउने र आपसी सिकाई र स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने । विद्यालय शान्ति क्षेत्र अभियानलाई प्रभावकारी बनाउन आपसी समन्वय गर्ने । राम्रो विद्यालयले कमजोर विद्यालयलाई सहयोग गरेर अगाडि बढ्न सहयोग गर्ने । कमजोर विद्यालयले पनि राम्रोसंग सिक्ने जोश बढाउने ।

१७)   जिल्ला शिक्षा कार्यालयमा सूचना समन्वय केन्द्र स्थापना गर्ने र यसको प्रभावकारी संचालन गर्ने । शिक्षकहरुले आफ्नो विद्यालय र गाउँघरमा भएका राम्रा कार्यहरु यस सूचना केन्द्रलाई उपलब्ध गराउने । राम्रा राम्रा कार्यहरु सबै विद्यालयहरुमा पुर्याउने कार्य सो सूचना केन्द्र मार्फत गर्ने ।

 

          हामी विद्यालयमा फर्केपछि यी सबै कार्य गर्नका लागि विद्यालय परिवारको मिटिड. आयोजना गर्नेछौं र भइरहेका कार्यहरुको मूल्यांकन गर्दै माथिका बुँदाहरु लागु गर्ने कार्ययोजना बनाउने छौं । जिल्ला शिक्षा कार्यालयले पनि प्रभावकारी समन्वयको माध्यमबाट विद्यालयहरुसंग अझ निकट हुँदै सम्पूर्ण विद्यालयहरुमा गुणस्तरीय शिक्षण वातावरण निर्माणका लागि अझ समन्वयात्मक वातावरण निर्माण गर्नेछ ।